काठमाडौं । ब्राजिलको साओ पाउलो एक विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दुई वटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार विमान घुम्दै सिधै तल खसेको देखिएको छ । दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसेको देखिएको छ ।
दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर प्राप्त भएकाले दुर्घटनाबारे अनुसन्धानकाक्रममा थप विवरण पत्ता लाग्ने बताइएको छ ।
यता ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गरेका छन् ।