काठमाडौं । काठमाडौंको ढलमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले आजदेखि शनिबारसम्म उपत्यकाका तीन जिल्लामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गरेको छ ।
काठमाडौंको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट संकलन गरेर ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान थालेको हो ।
पोलियो खोप अभियान अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइनेछ । नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भनेको छ । अभियानमा काठमाडौं, भक्तपुर र ललितपुरका जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने छ ।
विश्व स्वास्थ्य संगठनले १० वर्ष अघि नै नेपाललाई पोलियोमुक्त घोषणा गरेपनि पछिल्लो पोलियो भाइरस भेटिएपछि सरकारले यो अभियान थालेको हो ।






















