ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

विश्वासको मत प्राप्त भएनः गुम्यो प्रधानमन्त्रीको पद

काठमाडौं । कुनै समय लगभग सतप्रतिशत विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाउँदा प्रधानमन्त्री पद गुमेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास गुमाएका हुन् । प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।

संसदमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बसेका थिए । असार १७ गते कांग्रेस–एमालेबीच नयाँ सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री दाहालले पाँचौँ पटक विश्वासको मत माग्नुपर्ने बाध्यता आइपरेको थियो ।

प्रधानमन्त्रीलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि विश्वासको मत पाउन त्यो पर्याप्त भएन । नियुक्त भएको डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले चार पटकसम्म विश्वासको मत पाएपनि दूई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस बाहिर भएपछि विश्वासको मत गुमाएका हुन् । दाहाल २०७९ पुस ११ गते एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनको पक्षमा करिब शतप्रतिशत मत खसेको थियो ।

राष्ट्रपति निर्वाचनका बेला नै एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए । एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले पुनः एमालेसँग सहकार्य गरेका थिए । गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्री दाहालले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिएका थिए । त्यसैगरी सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिएका थिए ।

आजको विश्वासको मतको कार्यक्रमपछि प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ।

Health Tips Ad Road Block