काठमाडौं । अबदेखि एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक भए एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ ।
सहकारी संस्थाको नियामक निकाय सहकारी विभागले एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा पनि यही नियम लागु हुने भएको छ ।
‘सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेको र सोको पूर्ण परिपालना गर्नु,’ भनेर विभागको निर्देशनमा उल्लेख छ । कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक भइरहेको भए नयाँ निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्न भनेको छ । यदि विभागको निर्देशन अटेर गर्नेहरुलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने विभागले स्पष्ट पारेको छ ।
सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न भन्दै विभागले निर्देशन जारी गरेको स्पष्ट पारेको छ ।