ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।

नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल डा. नूतन शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छिन् । डा. शर्माले भनिन्, ‘यो मेरो करिअरको महत्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो । त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो।’

बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए । डा. वैद्यका अनुसार, यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको छ ।

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाई छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न ।

तीन सय असी डिग्रिमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरु बिरामीबाट संक्रमित हुने सम्भावनालाई पूरै हटाएकोले यो स्वास्थ्यकर्मीहरुका लागि पनि लाभदायक भएको डा. शर्मा दाबी गर्छिन् ।

Health Tips Ad Road Block