api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

खेलाडीले पाउने भए २ करोड ९७ लाख पुरस्कार

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडी एवं प्रशिक्षकले २ करोड ९७ लाख पुरस्कार पाउने भएका छन् । क्रिकेट , कराँते, कबड्डी र पारा तेक्वान्दो खेलाडी एवं प्रशिक्षकले पुरस्कारबापत २ करोड ९७ लाख १० हजार पाउने निश्चित भएको हो । लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार बल्ल खेलाडीले पाउने भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्री परिषद्को बिहीबारको बैठकले अनुमोदन गरेपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम प्राप्त गर्ने भएका हुन् ।

यसमा आइसिसी पुरुष ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले मात्रै कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ पाउनेछन् । १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी कराँते खेलाडी एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै एसियाली खेलकुदमा नै कबड्डीमा कास्य पदक जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्यपदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख, प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।

Health Tips Ad Road Block