सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँ समितिद्वारा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । ‘म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ’, उनले भने ।
राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको दाबी गरेका छन् । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।