काठमाडाैं । आज बिहान विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा बिजुली गयाे । केहीमा आक्राेश पनि देखियाे । विद्युत प्राधिकरणले बिजुली जानुकाे कारणासहित क्षमा याचना गरेकाे छ ।
विद्युत प्राधिकरणाका अनुसार करिब १:५४ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकूल मौसमका कारण रूख ढली विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध (Partial System Outage) सिर्जना हुन पुगेकाे थियाे। यसका कारण प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ (Ring Break) हुन गई काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको जनाएकाे छ ।
प्राधिकरणले भनेकाे छ, ‘विश्वकप फुटबलको फाइनल जस्तो विशेष अवसरमा उपभोक्ताहरूलाई निरन्तर र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले उच्च सतर्कता अपनाएको थियो। सोही अनुरूप, सम्पूर्ण सबस्टेशनहरू, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’ मा राखिएको थियो। यद्यपि, निरन्तर वर्षाका कारण उत्पन्न उक्त अप्रत्याशित प्राकृतिक विपत्तिले प्रणालीमा अवरोध सिर्जना गर्यो। घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल सक्रिय भई वैकल्पिक व्यवस्था (Alternative Arrangement) मार्फत विद्युत प्रणालीलाई यथाशीघ्र पुनः सुचारु गरिएको थियो।’
प्राधिकरणाले यस अप्रत्याशित घटनाबाट विश्वकप फुटबल हेरिरहेका खेलप्रेमीहरू तथा सम्पूर्ण उपभोक्तावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेकाे छ ।





















