skip this News Page Tips Ad Road Block

शेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन प्रधानमन्त्रीको सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका छन् ।

करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरे ।

भेटका क्रममा प्रधानमन्त्रीले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिए । उनले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याए ।

मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीले आग्रह गरे ।

यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

छलफलमा गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रस्ट पारे ।

उनले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरे ।

शेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो।

Health Tips Ad Road Block