कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोला अतिक्रमण हटाउने अभियान अन्तर्गत हालसम्म १६० वटा संरचना हटाइसकिएको जानकारी दिएका छन् ।
उनले खोला संरक्षण, प्राकृतिक बहाव कायम राख्न तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अभियानलाई निरन्तरता दिइने बताएका छन् ।
मेयर आचार्यले फिर्केखोला क्षेत्रमा अझै बाँकी रहेका सबै संरचना सम्बन्धित व्यक्ति तथा पक्षलाई स्वयं हटाउन आग्रह गर्दै यस अभियानमा कसैलाई पनि कुनै किसिमको छुट नदिइने स्पष्ट पारेका छन् ।
उनले कानुन सबैका लागि समान रूपमा लागू हुने उल्लेख गर्दै तोकिएको समयभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने चेतावनी दिएका छन् ।
उनले फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा दीर्घकालीन वातावरणीय सन्तुलन कायम राख्न अतिक्रमण हटाउने अभियान अपरिहार्य रहेको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहयोग र जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।





















