skip this News Page Tips Ad Road Block

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । २१० राष्ट्रमा सदस्यहरू रहेको,सामाजिक तथा मानवीय सेवा कार्यको लागि विश्वमै सबैभन्दा ठूलो संगठन लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन सभामुख डोलप्रसाद अर्यालको प्रमुख अतिथ्यतामा भोलि जेठ १६ गते काठमाडौँको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आयोजना हुने भएकाे छ। उक्त महाधिवेशनमा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरू (सभामुख डिपी अर्याल समेत) लाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।

लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा झन्डै ४७ हजार सक्रिय सदस्यहरू रहेका छन् भने २ हजार ४ सय क्लबहरू तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्। नेपालमा यो संस्था स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलोपटक यस वर्ष महिला अध्यक्ष(काउन्सिल चेयर पर्सन) निर्वाचित भई पोखराकी लायन मिलन थापाले समग्र नेपाल लायन्सको नेतृत्व गर्दै आएकी छन् । उनको कार्यकाल आगामी जुन ३० तारिखमा सकिने र जुलाई १ तारिखदेखि नयाँ लायन्स वर्षको सुरुवात हुने भएकोले नयाँ नेतृत्व चयनका लागि यही जेठ १४ गते निर्वाचन प्रक्रियाहरू सुरुवात हुने कार्यक्रम रहेको छ। लायन्स मल्टिपलको विधान अनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिवको लागि निर्वाचन हुनेछ भने अन्य केही पदहरू मनोनित हुनेछन्।

यस सामाजिक संस्थाले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण लगायत विविध क्षेत्रमा नेपालका दुर्गम क्षेत्रसम्म पुगेर मानवीय सेवा पुर्‍याउने गरेको छ भने यसका सयौं स्थायी परियोजनाहरू समेत नेपालमा सञ्चालनमा रहेका छन्। अचानक आइपर्ने भूकम्प बाढी पहिरो जस्ता दैवी प्रकोपमा समेत नेपालका हजारौँ लायन्स सदस्यहरुले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउँदै आएका छन्। अन्धोपन निवारण तथा दादुरा रुबेलाको खोप अभियानका लागि समेत लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्य गरेको छ भने थुप्रै आँखा अस्पताल,मुटु रोगको उपचार केन्द्र, विद्यालय भवनहरू निर्माण कार्यमा पनि लायन्स अन्तरराष्ट्रियले नेपाललाई योगदान दिने गरेको छ। यसका अलावा नेपालमा रहेका लायन्स क्लबका सदस्यहरू आफैंले पनि स्थानीय रूपमा आर्थिक स्रोत जुटाएर नेपालमा सामाजिक तथा मानवीय सेवाका निमित्त साना तथा ठूला परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्।

सन् १९१७ मा अमेरिकाको सिकागोमा पादुर्भाव भएको यस लायन्स अन्तर्राष्ट्रियको संगठन नेपालमा भने सन १९७१ मा स्वर्गीय पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब विराटनगर मार्फत सुरुवात भएको थियो। लायन्स अन्तर्राष्ट्रियको महाधिवेशन यही जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ भने आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका झन्डै ३ हजार जना सहभागी हुने क्षेत्रीय स्तरको सम्मेलन (ISAME Forum) नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको छ।

Health Tips Ad Road Block