काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका–६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका–२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका–६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन् ।
पक्राउ मध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ बाट आइतबार, गोपाललाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट र नवराजलाई काठमाडौं पुतलीसडकबाट सोमबार तथा ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका–८ बाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





















