skip this News Page Tips Ad Road Block

किसानलाई फार्म मेसिनरी सञ्चालन तथा मर्मत–सम्भार तालिमः ‘एक पालिका–एक वर्कसप’ को आवश्यकतामा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सिन्धुपाल्चोकको आयोजनामा तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को सहकार्यमा तीन दिने समूहस्तरीय फार्म मेसिनरी सञ्चालन तथा मर्मत–सम्भार तालिम सम्पन्न भएको छ।

जेठ ३ देखि ५ गतेसम्म कीर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रमा सञ्चालन गरिएको तालिममा सिन्धुपाल्चोक र आसपासका विभिन्न पालिकाका १८ जनाको सहभागिता रहेको थियो। तालिममा त्रिपुरासुन्दरी गाउँपालिका–२, सुनकोशी गाउँपालिका–४, मेलुङ गाउँपालिका–५ तथा बैतेश्वर गाउँपालिका–७ का प्रतिनिधिहरू सहभागी भएका थिए।

तालिममा विभिन्न क्षेत्रका विज्ञ तथा प्राविधिकहरूले कृषि मेसिनरीको सञ्चालन, मर्मत–सम्भार, प्रयोग विधि तथा उपकरणको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिम दिने स्रोत व्यक्तिहरूमा डीडीसी लैनचौरका ललितबहादुर जिरेल, नेपाल एग्रिकल्चरल इन्जिनियरिङ सेन्टरका डा गंगाराम भण्डारी, दाहाल ट्रेडिङ कन्सर्नका दुर्गा दाहाल, नेपाल कृषि मेसिनरी व्यवसायी संघका कृषि इन्जिनियर अमृत बोहोरा, एफएओ–टीए टु फ्यानसेपका वातावरण तथा सामाजिक सुरक्षा विशेषज्ञ शिवप्रसाद आचार्य, सहजकर्ता रमेश श्रेष्ठ तथा एसकेटी नेपालका सुभाष श्रेष्ठलगायत थिए ।

कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले कृषि क्षेत्रमा सीप विकासको महत्त्वबारे सहभागीहरुलाई विस्तृतरुपमा बताएका थिए । उनले कृषकलाई केवल मेसिनरी तथा उपकरण वितरण गरेर मात्र नपुग्ने उल्लेख गर्दै बिक्रीपछिको सेवा, सञ्चालन तथा मर्मत व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताए । कृषि मेसिनरीका लागि दक्ष प्राविधिक उत्पादनका लागि सरकारले योजना नै ल्याउनुपर्ने उनको माग छ ।

तीन दिने तालिमले सहभागीलाई अर्ध–दक्ष बनाउन सहयोग पुर्‍याए पनि पूर्ण दक्ष जनशक्ति उत्पादनका लागि १० देखि १५ दिनसम्मको थप विशेष तालिम आवश्यक रहेको र यसले स्थानीय तहमा दक्ष प्राविधिक उत्पादन हुनुका साथै दीर्घकालीन स्वरोजगार सिर्जना गर्न मद्दत पुग्ने शर्माले आशा व्यक्त गरे ।

कार्यक्रममा ‘एक पालिका, एक वर्कसप’ अवधारणालाई प्राथमिकताका साथ अघि सारिएको थियो। सहभागी पालिकाहरूमा पालिकास्तरीय वर्कसप स्थापना गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमै मेसिन मर्मत सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

साथै आगामी वर्षको बजेट तथा योजना निर्माणका क्रममा आवश्यक परे मेसिनको संख्या केही घटाएर भए पनि वर्कसप स्थापनामा लगानी गर्न सुझाव दिइएको छ। यसले दीर्घकालीन रूपमा कृषकलाई सहज सेवा उपलब्ध गराउने र कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन अवसरमा नेपाल कृषि मेसिनरी व्यवसायी संघलाई प्राविधिक सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको थियो। साथै आगामी दिनमा पनि कृषि प्रविधि तथा प्राविधिक प्रवर्द्धनका कार्यक्रमहरूमा सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्न संघ तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

Health Tips Ad Road Block