skip this News Page Tips Ad Road Block

काठमाडौंमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुने भएको छ।

हस्तकला क्षेत्रले देशमा लाखौँको संख्यामा स्वरोजगारको अवसर सिर्जना गरिरहेको र भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक २८ अर्ब रुपैयाँ बराबरका हस्तकला वस्तुहरू निर्यात भइरहेको पृष्ठभूमिमा यो मेला आयोजना गर्न लागिएको मेला आयोजक समिति संयोजक तथा महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् ।

देशमा कृषिजन्य उद्योगपछि देशैभरि विस्तार गर्न सकिने ठूलो सम्भावना बोकेको यस हस्तकला क्षेत्रले देशको कला, संस्कृति र सम्पदाको बलियो प्रतिनिधित्व गर्दै आएको छ। मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तीन दिने मेलाको मुख्य उद्देश्य विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्‍याउनु र हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्‍याउनु रहेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए।

मेलाको माध्यमबाट आय आर्जन गरी जिल्ला संघहरूको सबलीकरणमा सहयोग पुर्‍याउने, हस्तकला उद्योग व्यवसायबाट आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्ने, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्ने, हस्तकला उत्पादन र परम्परागत परिकारको व्यावसायिक विकासमा सहयोग गर्ने, तथा स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

मेलाको मुख्य आकर्षणको रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शन, स्थानीय उद्यमी, कलाकार र कालिगढहरूको प्रत्यक्ष सीप प्रदर्शन, तथा स्थानीय उत्पादन र परम्परागत रैथाने परिकारहरूको स्वाद पस्कने विशेष फुड स्टलहरू रहनेछन्। मेलामा काठमाडौँ उपत्यका भित्रका जिल्लालगायत संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ लगायतका जिल्लाहरूबाट त्यहाँका स्थानीय जिल्ला संघहरूको सहभागिता रहने आयोजकले जनाएका छन्।

यो मेलाले स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, स्थानीय उद्यमी, कलाकार र कालिगढहरूको सीप, क्षमता तथा मनोबल अभिवृद्धि हुने, र मूर्त तथा अमूर्त कला संस्कृति एवं परम्परागत परिकारको संरक्षणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ ।

मेलामा मेक इन नेपाल र मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा जति व्यापारिक स्टल राखेर वस्तु तथा सेवाको विशेष प्रदर्शन गरिनेछ। मेलाको व्यापक प्रचारप्रसारका लागि विद्युतीय सञ्चार माध्यम, ईमेल, इन्टरनेट, सामाजिक सञ्जाल, ब्यानर र प्रत्यक्ष पत्राचार जस्ता आधुनिक माध्यमहरूको प्रयोग गरिएको छ भने मेलामा आउने सम्पूर्ण आमन्त्रित तथा सर्वसाधारणका लागि निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

मेलाको साझेदार संस्थाहरूको रूपमा प्रमोटिङ पार्टनर हेल्भेटास नेपाल, लजिस्टिक पार्टनर एभरेष्ट डि कार्गो, ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टिङ पार्टनर विजय अफसेट, र इन्स्योरेन्स पार्टनरका रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहेका छन्। त्यसैगरी मिडिया पार्टनरको रूपमा आर्थिक अभियान राष्ट्रिय दैनिक तथा सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, एनएमबि बैंकसमेत रहेका छन् ।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले धन्यवाद व्यक्त गर्दै हस्तकलाको विकासबारे चर्चा गरेका थिए ।

Health Tips Ad Road Block