काठमाडौं । नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३२ औंँ पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । १७ मे २०२६ आज(आइतबार) बिहान नेपाली समयअनुसार १० बजेर १२ मिनेटमा ८,८४८.८६ मिटर अग्लो विश्वको सर्वाेच्च शिखर सगरमाथाको ३२ औँ पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका हुन् ।
पयृटन विभागको सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालयबाट प्राप्त जानकारी अनुसार १४ शिखर अभियानद्वारा सञ्चालित अभियानको नेतृत्व गर्दै २०२६ को वसन्त ऋतुमा आरोहण सम्पन्न भएको हो ।
१७ जनवरी १९७० मा सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका कामी रीता शेर्पा हाल पर्यटन विभागद्वारा जारी गरिएको आरोहण अनुमति नम्बर ७० अन्तर्गत सगरमाथामा पर्वतारोहण गाइडको रूपमा कार्यरत छन्। उनले पहिलो पटक १९९४ मा सगरमाथा आरोहण गरेका थिए ।
पर्यटन विभागले कामी रीता शेर्पालाई यो ऐतिहासिक कोशेढुङ्गा हासिल गरेकोमा बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्वतारोहण क्षेत्रलाई प्रवर्द्धन गर्न उनको योगदानलाई प्रशंशा गरेको छ ।
त्यसैगरी, ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान ९ बजेर ३० मिनेटमा ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेकी छन् । विभागले यसलाई पुष्टि गरेको हो ।
सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेकी हुन्।





















