skip this News Page Tips Ad Road Block

संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको संसदलाई डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा लगिने भएको छ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले यसको तयारी भइरहेको बताएका हुन् ।

अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले गरेको भेटका क्रममा यस्तो बताएका हुन् ।

भेटमा सभामुखले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए । उनले समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने उल्लेख गरेका छन् ।

यस्तै, यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरेको छ । साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाइन् ।

सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।

Health Tips Ad Road Block