Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२ सय वर्ष पुरानो गगनेश्वर महादेव मन्दिरलाई ३ तलाको बनाइने, कोटेश्वर मन्दिर पुनःनिर्माण गर्न अध्ययन हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । प्रदेश सरकारबाट रकम प्राप्त गरेर निर्माण थालिएको तर, पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं.३२ को गगनेश्वर महादेव मन्दिरलाई ३ तलाको बनाउने महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिले निर्णय गरेको छ । समितिका संयोजक आशामान संगतको अध्यक्षतामा वडाध्यक्ष तथा वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, वडा सदस्य हीरादेवी पोखरेल, सम्पदा तथा पर्यटन समितिका सदस्यहरु, विभागका प्रमुख तथा इञ्जिनियरहरु, पुरातत्व विभागका प्रतिनिधि, गुठियार, स्थानीय तथा अभियन्ता सहितको वैठकले यस्तो निर्णय गरेको हो ।

काम थालियो तर अलपत्र भयो । यो अवस्थालाई सुधार गर्न महानगरपालिकाले स्वामित्व लिएर काम सक्नु पर्ने स्थानीयहरुको माग आएपछि छलफलका लागि बैठक बसेको थियो । पुनःनिर्माण गर्दा मन्दिर २ तले बनाउने कि ३ तले बनाउने ? यसको प्राचीनतालाई पुरातत्व विभागले कसरी ग्रहण गर्छ ? प्रदेश सरकारको योजनामा काम गर्दा गठन भएको उपभोक्ता समितिको भनाइ के हो ? पुनःनिर्माणका क्रममा आएका मतभेदहरुको समाधान कुन विषयमा हुन सक्छ ? छलफल यही विषयमा केन्द्रीत थियो ।

करिब २ सय वर्ष पुरानो यो मन्दिर १९९० सालको भूकम्पले पाताल भएको गुठियारहरुको भनाइ छ । यसको पुनःनिर्माणका सन्दर्भमा पुरातत्व विभागबाट समयमा निर्णय हुन नसकेको विषय उठान भएपछि सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, लिखित दस्तावेज नपाइए गुठियार, जनश्रुति, कथन, सामाजिक विश्वाश तथा मान्यतालाई आधार बनाएर पुरातत्व विभागले निकास दिनु पर्ने बताए । ‘हामीलाई निकास चाहिएको हो । पैसा खर्च गरेर हामी काम गर्छौँ तर, पुरातत्व विभागले यो वा त्यो वहानामा काम रोक्ने वा हुन नदिने मनसाय राख्नुहुँदैन । थोरै समय पर्खिएर प्रक्रिया पूरा गर्न हामी तयार छौँ ।तर, प्रक्रिया पूरा गर्ने नाममा महिनौँ वा वर्षौँसम्म प्रक्रिया अवरुद्ध हुने अवस्था हामीलाई मान्य छैन ।’ संगतले धारणा राखे ।

त्यस क्रममा वडाध्यक्ष नवराज पराजुलीले, विवाद नभएका कुनै पनि योजना कार्यान्वयनमा नलगिने बताए । ‘कुरा मिल्छ । सबैको सहमति हुन्छ, भने हामी काम अगाडि बढाउन तयार छौँ । तर, मन मिल्दैन । कसैलाई नबनिदिए हुन्थ्यो जस्तो लागेको छ भने हामी जनताले तिरेको कर विवाद भएका ठाउँमा लगेर फसाउँदैनौँ ।’ पराजुलीको भनाइ थियो ।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई ३ छाने बनाउने निर्णय गरेको छ । यो विषय पुरातत्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबीच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो । यो मन्दिर अहिले लकासी लेभलसम्म निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले, जमिनमाथि देखिने भागको प्राविधिकहरुले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ ।

यस्तै कोटेश्वर महादेव मन्दिर पुनःनिर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मत सम्भारको काम निरन्तर गर्ने पुनःनिर्माणको आवश्यकता अध्ययन गर्ने निर्णय भएको छ ।

Health Tips Ad Road Block