काठमाडौं । नेपाल आयल निगम लिमिटेड फेरि पेट्रोल र डिजेलमा भारी मूल्यवृद्धि गरेको छ । आज बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर १५ रुपैयाँले बढाएको निगमले जनाएको छ ।
मार्च १६ र मार्च ३१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ४७.१२ प्रति लिटर डिजेलमा रु.१३३.४५ तथा एलपि ग्यासमा रु.४१६.३७ प्रति सिलिण्डर घाटा रहेको निगमको भनाइ छ । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिक रुपमा निगमलाई रु. १३ अर्व २१ करोड घाटा हुन जाने निगमको भनाइ छ ।
विगत महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ। सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति श्रृङ्खला प्रभावित हुने निगमको भनाइ छ ।
हाल उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गर्ने गरी निगम सञ्चालक समितिले थोरैमात्र मूल्यवृद्धि गरेको जनाएको छ ।
नयाँ मूल्य समायोजन अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर १७९.५० रुपैयाँ पर्दछ । दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर २०१ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १८१ रुपैयाँ पर्दछ । तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १८२ रुपैयाँ पर्दछ ।






















