skip this News Page Tips Ad Road Block

राष्ट्रपतिद्धारा चैत १९ गतेका लागि संघीय संसदको अधिवेशन आव्हान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते बिहीबारका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को सोमबार सम्पन्न बैठकले सङ्घीय संसद्को अधिवेशन चैत १९ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिएका थिए ।

नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष पेस गरेको थियो । सङ्घीय संसद् सचिवालयको समन्वयमा ज्येष्ठ सदस्यको शपथग्रहण चैत ११ गते भएको भोलिपल्ट ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका बाँकी सदस्यको शपथग्रहण गराएका थिए ।

संविधानको धारा ९५ को २ मा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।

Health Tips Ad Road Block