काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही छैन भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको बताएका हुन् ।
उनले सामाजिक सञ्चजालमार्फत यो विषय सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनकै निवास सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेकाे थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको छ ।
यसैगरी पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी काठमाडौँ लगेको छ ।





















