विराटनगर । उद्योग संगठन मोरङले पहिलो पटक विराटनगरमा क्षेत्र विशेष “घर निर्माण प्रदर्शनी २०८२” सिआईएम होम बिल्ड एक्जिबिसन २०२६ आयोजना गर्ने भएको छ । चैत १२ देखि १६ गते सम्म जैन भवन विराटनगरमा यो प्रदर्शनी आयोजना हुने भएको हो । संगठनले व्यवसायदेखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रवद्र्धन गर्दै लक्षित बजार र क्षेत्र–विशेषलाई चलायमान बनाउने माध्यमको रूपमा विषयगत एक्स्पोहरूको आवश्यकता महसुस गरी निर्माण क्षेत्रको इकोसिस्टम विकासको प्रयास स्वरूप घर निर्माण प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ ।
निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्रायका साथ हुने यस प्रदर्शनीमा घर निर्माणसंग सम्बन्धित कच्चा पदार्थदेखि लिएर आन्तरिक सजावटका सामग्रीसम्मका विविध उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ । प्रदर्शनीको माध्यमबाट निर्माण मूल्य शृंखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्ता लगायत सबै सरोकारवालाहरूलाई एउटै छानामुनि एकत्रित गरिनेछ । यसले नवप्रवर्तनको प्रदर्शन, नयँ साझेदारी निर्माण तथा बजार सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
घर निर्माण प्रदर्शनी किन ?
घर निर्माणको क्षेत्र र यसको आपूर्ति श्रृंङ्खा बृहत्तर छ । सामान्य ज्यालामा काम गर्ने श्रमिक देखि दक्ष प्राविधिक, परामर्शदाता, निर्माण सामाग्री उत्पादक, सेनेटरी, फर्निचर, फिक्चर, टायल मार्वल लगायत व्यापक क्षेत्रमा यसको प्रभाव छ । तसर्थ वर्तमानको संकुचित बजारको अवस्थालाई यस क्षेत्रको प्रवर्धनका माध्यमबाट चलायमान बनाउन यस प्रदर्शनीको आयोजना गरिन लागिएको हो । यसको अर्को पाटो पनि छ । घर निर्माण हरेक नेपालीको सपना हुन्छ । यस्तो सपनाको घर कस्तो बनाउने ? कसरी सुरक्षित बनाउने ? निर्माण सामाग्री कसरी छान्ने ? यस्ता बिषयमा व्यापक जनचेतनाको आवश्यकता रहेको छ । त्यसैगरि, घरको छत चुहिने छ, किरा धमिराले खान्छ, धेरै पुरानो भयो कसरी जिर्णोद्धार गर्ने भन्ने बिषयहरु प्नि यस प्रदर्शनीका मुख्य सरोकारका बिषयहरु हुन । यस प्रदर्शनीले निर्माण क्षेत्रका यी सम्पूर्ण मूल्य शृंखलालाई एउटै थलोमा ल्याउने लक्ष्य राखेको छ । उत्पादन प्रदर्शन, विशेषज्ञ सत्र, व्यवसायिक छलफल तथा अन्तरक्रियात्मक सहभागिता जस्ता गतिविधिहरूले यस एक्स्पोलाई ज्ञान, नवप्रवर्तन र व्यावसायिक अवसरहरूको महत्वपूर्ण मञ्च बनाउने गरि तयारी गरिएको छ । यस प्रदर्शनीले सुरक्षित घर, स्मार्ट जीवनको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्दै नेपाली निर्माण क्षेत्रलाई दिगो, आधुनिक र प्रतिस्पर्धात्मक दिशातर्फ अग्रसर गराउने विश्वास लिईएको छ ।
प्रदर्शनीका उद्देश्य
यस प्रदर्शनीको मुख्य उद्देश्य नेपाली निर्माण सामग्री तथा सेवाहरूको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिु तथा आयात प्रतिस्थापनमार्फत देशको निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको छ । त्यसैगरी डिजाइन, सामग्री, प्रविधि तथा सेवाबीच सहकार्यलाई प्रोत्साहन गर्दै आधुनिक निर्माण अभ्यास, गुणस्तर र दिगोपनबारे उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिर्ईएको छ । प्रदर्शनीले निर्माण क्षेत्रका उत्पादक, सेवा प्रदायक, नीति–निर्माता र प्रयोगकर्ताबीच सहकार्यको सेतु निर्माण गरी समग्र क्षेत्रको सुदृढीकरणमा योगदान पुर्याउने विश्वास लिईएको छ ।
प्रदर्शनीको विशेषता
“सुरक्षित घर, स्मार्ट जीवन” भन्ने नारालाई आत्मसात् गर्दै यस प्रदर्शनीमा सुरक्षित, दिगो र आधुनिक घर निर्माणका लागि व्यवहारिक समाधानहरू र नवीन प्रविधिहरू प्रस्तुत गरिनेछन । निर्माण क्षेत्रसंग सम्बन्धित कच्चा सामग्री, डिजाइन तथा योजना निर्माण देखि लिएर फिनिसिङ र इन्टेरियर सजावट सम्मका गुणस्तरीय उत्पादन तथा सेवाहरूलाई प्राथमिकता दिइएको छ ।
प्रदर्शकहरूको सहभागिता
प्रदर्शनीमा ७५ वटा भन्दा वढी स्टल रहने आयोजकले जनाएको छ । डिजाइन तथा प्लानिङ अन्तर्गत वास्तुकला, संरचनात्मक इन्जिनियरिङ तथा वास्तु परामर्श सेवा निर्माण सामग्री अन्तर्गत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्तर्गत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत् तथा ऊर्जा अन्तर्गत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी तथा सुरक्षा जस्ता उत्पादन र सेवाहरू समावेश हुनेछन् ।
त्यसैगरी फर्निचर तथा फिक्स्चरअन्तर्गत मोड्युलर किचन, वार्डरोब, ढोका–झ्याल, हार्डवेयर, पर्दा तथा कपडा आन्तरिक डिजाइन तथा सजावट अन्तर्गत पेन्ट, प्रकाश व्यवस्था, फलोरिङ तथा फर्निसिङ निर्माण सेवा अन्तर्गत ठेकेदार, परियोजना प्रबन्धक, उपकरण भाडा तथा नवप्रवर्तन अन्तर्गत निर्माण सफटवेयर, स्वचालन उपकरण साथै बैंक तथा बीमा कम्पनीहरूद्वारा प्रदान गरिने वित्तीय तथा बीमा सेवाहरू पनि समेटिनेछन् ।
लक्षित सहभागीहरू
प्रदर्शनीमा निर्माण क्षेत्र अन्तर्गतका निर्माता, सेवा प्रदायक, डिजाइनर, परामर्शदाता तथा नवप्रवर्तकहरू प्रदर्शकको रूपमा सहभागी हुनेछन । अवलोकनकर्ताका रूपमा घर निर्माण गर्न चाहने, घर मर्मत गर्ने, निर्माणकर्ता, निर्माण व्यवसायीहरु, वास्तुविद्, इन्जिनियर तथा रियल इस्टेट विकासकर्ता,तथा नीति–निर्माता, प्राविधिक तथा विद्यार्थीहरूका साथै बैंक, बीमा कम्पनी तथा सहायक सेवा प्रदायकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीका प्रमुख विशेषताहरू
प्रदर्शनीमा उत्पादनहरूको प्रत्यक्ष प्रदर्शन तथा आगन्तुकहरूले आधुनिक निर्माण सामग्री तथा प्रविधिहरूको प्रत्यक्ष अनुभव लिन पाउनेछन । हरित भवन, स्मार्ट होम प्रविधि तथा समसामयिक डिजाइन प्रविधि बारे विशेषज्ञहरूद्वारा विशेष प्रस्तुति तथा अन्तरक्रिया सत्रहरू सञ्चालन गरिनेछन् । व्यवसायिक भेटघाट तथा नेटवर्किङका लागि द्यद्दद्य र द्यद्दऋ बैठकहरूको सञ्चालन गरिनेछ । वास्तुशास्त्र कर्नर, इन्टेरियर मोक–अप र नवप्रवर्तन जस्ताक्षेत्रहरू पनि रहनेछन् ।
दैनिक विशेष सत्रहरू
प्रदर्शनी अवधिभर प्रत्येक दिन २ घण्टाको विशेष सत्रहरू सञ्चालन गरिनेछन् । यी सत्रहरूमा वाटरप्रुफिङ तथा भवन उपचार, सोलार होम प्रणाली, स्मार्ट हाउस अवधारणा, वातावरणमैत्री निर्माण प्रवृत्ति, धमिरा नियन्त्रण समाधान, आधुनिक मोड्युलर किचन प्रविधि तथा भूकम्प प्रतिरोध, आगो सुरक्षा र किचन सुरक्षा अभ्यास जस्ता विषयमा विशेषज्ञहरुद्धारा प्रस्तुति तथा छलफल हुनेछ ।






















