ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज र भोलि काठमाडौंमा पाँचौं लघुवित्त सदस्य सम्मेलनः लघुवित्तका उपलब्धी, समस्याबारे ७ वटा सत्रमा छलफल हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आज आईतबार र भोलि सोमबार (चैत ८ र ९ गते) का काठमाडौं को कार्की बैंक्वेटमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना गरिएको छ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा भएको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५ सय जना भन्दा बढीको सहभागिता रहेको छ ।

‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित २ दिनसम्म चल्ने सम्मेलन अन्तर्गत सात ओटा शत्रमा लघुवित्तका विविध आयामहरुमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । जसअन्तर्गत ‘लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौति र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौति र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ ।

विश्वका १७७ ओटा देशहरुमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरुको सम्मेलन नेपाल एकमात्र देश रहेको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताएका छन् । ‘लघुवित्तका नीति निर्माता तथा नियामकहरुको सहभागितामा विश्व सम्मेलन, क्षेत्रिय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ’ उनले भने, ‘सदस्यहरुलाई सहभागिता गराई उनीहरुको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।’ सदस्यहरु नै लघुवित्तको अभिन्न अंग भएको र उनीहरुलाई केन्द्रविन्दुमा राखी सम्मेलन हुँदै आएको उनको भनाइ छ ।

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । “उद्यमशीलताको विकास, गरिबी निवारणको निकास” नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, “स्वच्छ लघुवित्त, हाम्रो अभियान” नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र “घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा र ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० सालमा सम्पन्न भएको थियो ।

गरिवी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुले भूमिका खेल्दै आएका छन् । लघुवित्तले चुलोचौकोमा सिमित महिलाहरुलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको वच्चाहरुलाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरणहरु रहेको श्रेष्ठले बताए । तर, सरकारले लघुवित्त संस्थाहरुलाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांस बाड्ने होडबाजी चलेको, यसका लागि आवश्यक्ता भन्दा बढी ऋण दिदा विकृती बढाएको समेत उनले बताए । अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काचुली फेर्ने उनले दाबी गरे ।

विकासको मुख्य शक्ति युवा वर्गमा सिर्जनात्मकता, ऊर्जा, शिक्षा र सीपको ठूलो सम्भावना भएपनि पर्याप्त स्वरोजगार अवसर नहुँदा धेरै युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । अब लघुवित्त संस्थाहरुले युवाहरुलाई स्वरोजगार बनाउन काम गर्नुपर्ने त्यो लघुवित्त कार्यक्रमका लागि नयाँ आयाम हुने अध्यक्ष श्रेष्ठले बताए । ‘अब लघुवित्तहरुले युवाहरुलाई लक्षित गरेर आफ्नो कार्यक्रम अघि बढाउन केन्द्रीत हुनुपर्छ’ उनले भने, ‘त्यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशिलतामै केन्द्रीत गरेका छौं ।’

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन् ।

लघुवित्तहरुले वित्तीय सेवाका अलावा ‘क्रेडिट प्लस’ को सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन् । यस्तै ‘थ्रि जिरो’ अवधारणा अन्र्तगत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्य सहित युवाहरुको क्लव गठन गरी काम गरिरहेको छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्ममा ५२ ओटा लघुवित्त वित्तीय संस्थाहरुले देशभर ५ हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ ।

२७ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ९५ अबभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।

Health Tips Ad Road Block