Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिममा आपूर्ति व्यवस्थापन एवं ग्यास लगायतका वस्तुहरूको नियमनबारे छलफल 

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्यास लगायतका वस्तुहरूको नियमनको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णय गरेको हो।

यस्तो छ निर्णयहरू:

१) डिजेल, पेट्रोल, खान पकाउने एलपीजि ग्याँस लगायतका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा सुपरिवेक्षण तथा बजार अनुगमन गरी उपभोक्ता संरक्षण ऐन नियमावली लगायतका प्रचलित कानुन बमोजिम गठित अनुगमन समिति तथा संयन्त्रहरू मार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने । बजार अनुगमन तथा आपूर्ति नियमनकारीमा सरोकारवाला सरकारी निकायहरूलाई व्यवसायिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी सङ्घ संस्थाहरुले आवश्यक सहयोग र समन्वय एवं सहजीकरण गर्ने ।

२) सबै पेट्रोलियम पदार्थ तथा ग्यास उत्पादक उद्योग र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव, बढी मूल्यलीइ बिक्री गर्ने जस्ता क्रियाकलापहरु हुन नदिने तर्फ सचेत रहन अनुरोध गर्ने ।

३) कोही कसैले पनि पेट्रोलियम लगायतका अत्यावश्यक वस्तुको कालोबजारी गरेको, अत्याधिक मात्रामा लुकाएको, बढी मूल्य लिएर बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेको जस्ता क्रियाकलापहरु गरेको पाइएमा सम्बन्धित अनुगमन गर्ने निकायले प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने तर्फ ध्यान दिने ।

४) ग्यास, पेट्रोलियम पदार्थहरूको मितव्ययी प्रयोग, खपत न्यूनीकरण, सहज आपूर्ति, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने लगायतका विषयमा सम्बन्धित निकायहरूले जनचेतनामूलक सूचना एवं सन्देशहरू प्रवाह गर्ने ।

५) हाल कुनै पनि पेट्रोलियम पदार्थहरू र अन्य अत्यावश्यकीय वस्तुहरूको बजार आपूर्तिमा असहजता नरहेको हुँदा विचलित नहुन र आपूर्ति व्यवस्थाको नियमन कार्यमा सरकारी निकायहरूले प्रभावकारी ढंगले सम्पादन गरिरहेको जानकारी सर्वसाधारणलाई  अनुरोध गर्ने ।

छलफलमा विभागीय सचिवहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, निमित्त सशस्त्र प्रहरी बल नायब महानिरीक्षक दीगविजय सुवेदी, अनुसन्धान निर्देशक किशोर चन्द, नेपाल आयल निगम प्रादेशिक प्रमुख धनगढीका मनोहर डि.सी., सुदूरपश्चिम प्रदेश पेट्रोलियम डिलर्सका चक्र मल्ल, कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, ग्यास डिलर्स एसोसिएसन कैलालीका छविराज भट्ट, सैपाल ग्यास प्रा.लि. का संगम भण्डारी, वाणिज्य आपूर्ति कार्यालयका सुरेशप्रसाद जैसी लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

Health Tips Ad Road Block