काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । आज नाडाको केन्द्रीय कार्यसमितिको बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गरे । सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
यसै अवसरमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।
बैठककै क्रममा नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
साथै नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।






















