काठमाडों । अमेरिकी र इजरायली आक्रमणमा परी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका इरानले पुष्टि गरेको छ । इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले आक्रमणमा गरेर खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका जनाएको छ । यसैबीच सरकारी टेलिभिजनका एक प्रस्तोताले देशमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत अमेरिकी–इजरायली आक्रमणमा परि इरानी सर्वाेच्च नेता खामेनी मारिएकाे घोषणा गरेका थिए । ट्रम्पले इरानी नागरिक, अमेरिकी र विश्वभरका धेरै देशका मानिसहरूका लागि न्याय भएको भनी उल्लेख गरेका थिए । उनले इरानमाथि बमबारी जारी रहने र इरानी नागरिकका लागि आफ्नो देश फिर्ता लिने यो एक मात्र ठूलो मौका भएको बताएका छन् ।
अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरिरहेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
तस्विर: अन्तर्राष्ट्रिय सञ्चारमाध्यम






















