काठमाडौं । मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको एनआरएनले जनाएको छ। मध्यपूर्वका देशहरुमा उत्पन्न यस कठिन परिस्थितिमाझ १९ लाखभन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी रहेको एनआरएनएले उल्लेख गरेको छ ।
यस संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न सावधानी अपनाउन एनआरएनएले अनुरोध गरेको छ ।
– सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न ।
– अत्यावश्यक बाहेक बाहिर ननिस्कन र सुरक्षित स्थानमै बस्न।
– अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न ।
– राष्ट्रिय समन्वय परिषद्हरू, गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन ।
– हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्न ।
यसका साथै नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न गैरआवासीय नेपाली संघले अनुरोध गरेको छ । यसका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत तत्पर रहेको एनआरएनएका अध्यक्षद्धय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले आग्रह गरेका छन् ।
विश्वभर रहेका नेपालीहरूको सुरक्षा हाम्रो साझा प्राथमिकता रहेको भन्दै संघले नेपाली समुदायको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको भन्दैआवश्यक परेमा समन्वय, सहकार्य तथा सहयोगका लागि सधैं तत्पर रहने जानकारी गराएको छ । एनआरएनएले केही अत्यावश्यक कार्य भएमा ९८०१८६११०० र ९८०१८६११२३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।






















