ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दोस्रो बजारमा लगानीका लागि सही शेयर छनोट गर्ने तरिका !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । दोस्रो बजारमा लगानीका लागि सही शेयर छनोट गर्न कठिन कार्य हो। लगानी योग्य सेवा छनोटलाई लगानीकर्ताको उद्देश्य, लगानीको समयावधि, जोखिम बहन, प्रतिफल, आम्दान पेसाजस्ता विषयले असर गर्छ । यसका अलावा कम्पनीको वित्तीय अवस्था तथ लगानीसम्बन्धी अन्य विषय पनि त्यत्तिकै महत्त्वपूर्ण बन्न जान्छन् । शेयर छनोटलाई सरल बनाई जोखिम न्यूनीकरण गर्न एक सामान्य आधारको निर्माण गरिएको छ जसलाई मिदास (MIDAS) भनिन्छ। शेयर बजारमा लगानी गर्नेका लागि यो लक्ष्मण रेखा पनि हो। मिदासकाे पूरा रूप यस्तो हुन्छ :-
M= Marketability
I= Income
D= Diversification
A= Appreciation
S= Security

बिक्रीयोग्य (Marketability)

लगानीका लागि शेयर वा कम्पनीको छनोट गर्दा चाहेको बेला बिक्री गर्न सकिने शेयरको छनोट गर्नु पर्छ। बिक्री योग्यताले शेयरकाे तरलतालाई जनाउँदछ । नाफामा गएका, बढ्‌दो तथा उच्चदरमा लाभांश वितरण गरिरहेका, नेटवर्थ सकारात्मक भएका, संस्थागत सुशासन कायम गरेका र बढ्दो बजार अंश भएका कम्पनीको शेयरमा बिक्रय शक्ति बढी पाइन्छ। निरन्तर नोक्सानमा गएका, खराब व्यवस्थापन भएका, समाजमा विश्वसनीयता गुमाएका, लाभांश वितरण नगरेका कम्पनीहरूको शेयरमा बिक्रय शक्ति कम हुन्छ र चाहेको बेला बिक्री गर्न सकिँदैन ।

शेयरको तरलता दोस्रो बजारको कारोबारबाट पनि मापन गरिन्छ। दैनिकजसो उच्च संख्यामा कारोबार भइरहने कम्पनीको शेयरमा तरलता बढी हुने गर्छ । नेपालको शेयर बजारमा वाणिज्य बैंक तथा जलविद्युत कम्पनीको शेयरमा तुलनात्मकरूपमा अन्य क्षेत्रको भन्दा बढी तरलता रहेको पाइन्छ । शेयरको बिक्री योग्यतामा स्थिरता रहिरहन सक्दैन । यो बारम्बार परिवर्तन भइरहन सक्छ । जसको मूल्यांकन अनारको दैनिक अवलोकन गरेपछि थाहा हुन सक्छ ।

आय (Income)

सोवरमा गरिएको लगानीबाट बजार र कम्पनी दुई ठाउँबाट आम्दानी हुन्छ। शेयर बिक्री गरेर आउने पुँजीगत लाभ (नाफा) लाई बजारको आम्दानी भनिन्छ भने लाभांशलाई कम्पनीबाट प्राप्त हुने आम्दानी भनिन्छ। शेयर बिक्री नगरी हाेल्ड गरिएको अवस्थामा पनि आम्दानी प्राप्त गर्नका लागि नियमित रूपमा लाभांश बाँडेका कम्पनीको छनोट गर्नुपर्छ। तत्काल नाफामा भएका र कम्तीमा पनि विगत पाँच वर्ष लगातार लाभांश बाँडेका कम्पनीलाई लगानीको प्राथमिकतामा राख्न सकिन्छ। उदाहरणको लागि युनिलिभर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, विशाल बजार, नबिल बैंक आदि । रिटायर्ड जीवनका लागि उच्च लाभांश बाँड्ने कम्पनीको छनोट गरिन्छ। वित्तीय स्थिति सुदृढ हुँदै गएका, राम्रो व्यवस्थापन भएका कम्पनीको लाभांश पनि उच्च रहन्छ भने शेयर मूल्य पनि बढ्दै जान्छ।

विविधीकरण (Diversification)

आफूसँग भएको लगानीयोग्य पुँजीलाई लगानीका विभिन्न विकल्प जस्तो सेयर, ऋणपत्र, मुद्धती खातामा बाँडेर लगानी गर्नुलाई विविधीरण गर्नु वा पोर्टफोलियो बनाउनु भनिन्छ। यसको प्रमुख उद्देश्य एउटैमात्र विकल्पमा लगानी गर्दा हुने जोखिमको न्यूनीकरण गर्नु हो। यसैले लगानीमा एउटा भनाइ छ ‘सबै अण्डा एउटै बास्केटमा नराख’ (Don’t put all eggs in a single basket)। विविधीकरण गर्दा आधार फरक बनाउन सकिन्छ ।

जस्तो फरक उद्योग (Industry), फरक व्यावसायिक घराना, फरक धितोपत्र आदि। सबै पुँजी एउटै कम्पनीको शेयरमा लगानी गरेमा त्यस कम्पनीको मूल्य घट्दै गयो वा कम्पनी विघटनमा गयो भने नोक्सान बढ्न जान्छ। तर बाँडेर लगाउँदा एउटामा घाटा भए पनि अर्कोमा फाइदा भइरहेको हुन सक्छ। एकतिरको नोक्सानलाई अर्कोतिरको नाफाले कम गर्न सकिन्छ। आव २०५५/०५६ मा जारी भएको तारागाउँ रिजेन्सी होटलको शेयरमा मात्र लगानी गरेका लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नुपर्यो । त्यसरी नै होटल समूहमा मात्र आफ्नो पुँजी बाँडेर लगानीको विविधीकरण गरे पनि पर्यटन व्यवसाय खस्केको कारण नोक्सान बेहोर्नुफ्यो । त्यसरी नै एउटै समूह एनवी ग्रुपको प्रवर्द्धनमा सञ्चालित कम्पनीहरू एनवी बैंक, एनसीसी बैंक, एनबी फाइनान्स, हरिसिद्धि इँटा तथा टायल कारखाना, नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेसनल हाइड्रोपावरको सञ्चालक समूहकै बदनियत र गिर्दो विश्वसनीयताका कारण कम्पनीहरुको वित्तीय स्थिति बिग्रँदै गयो। कुनै समय प्रायः सबै कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल झर्न्यो । लगानीकर्ताले ठूलो नोक्सान बेहोर्नुपर्यो । यसैकारण सबै लगानी एउटै समूहद्वारा प्रवर्द्धित कम्पनीका शेयरमा लगाउँदा समग्र समूह नै डुब्ने स्थिति आउँदा लगानी ठूलो जोखिममा पर्न जान्छ।

मूल्यवृद्धि (Appreciation)

शेयर छनोट गर्दा भविष्यमा मूल्यवृद्धि हुन सक्ने सम्भावना भएका छनोट गर्नुपर्छ । वित्तीयस्थिति राम्रो हुँदै गएको छ । बजारमा विश्वसनीयता बढ्दै गएको छ । लगानी बढाउँदै गएको छ । कम्पनीसँग सम्बन्धित उद्योगको व्यावसायिक वातावरण सकारात्मक बन्दै गएको छ । भविष्यमा लाभांशको घोषणा गर्ने सम्भावना आदि भएका कम्पनीको शेयर मूल्य पनि बढ्ने सम्भावना रहन्छ। त्यसरी नै राम्रो कार्य सम्पादन भएका र पब्लिकसँग कम शेयर भएका कम्पनी जस्तो विशाल बजार कम्पनी, युनिलिभर नेपाल, राष्ट्रिय बिमा संस्थानजस्ता कम्पनी मूल्य बढ्ने सम्भावना बोकेका केही उदाहरण हुन् । यस्ता कम्पनीको शेयरको मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढ्ने गर्छ।

सुरक्षा (Security)

शेयर छनोट गर्दा ध्यान दिनुपर्ने अर्को तत्त्व सुरक्षा हो । सुरक्षाले कम्पनी वा लगानी डुब्ने वा नडुब्ने भन्ने कुरालाई जनाउँछ । लगातार नाफामा गएका, सकारात्मक उच्च नेटवर्थ (Networth) भएका, संस्थागत सुशासन भएका कम्पनीको शेयरमा जोखिम कम हुने गर्छ। जोखिमरहित सम्पत्ति पनि सुरक्षित शेयर छनोट गर्ने अर्को आधार हो । सम्पत्तिका हिसाबले हाइड्रोपावर कम्पनीहरू बढी जोखिमपूर्ण हुनुका साथै सुरुका वर्षमा नेटवर्थ पनि कम हुन्छ । यस्ता कम्पनी बढी ऋण लिएर सञ्चालित हुन्छन् । सुरक्षित लगानीका लागि समूह, नाफा, वृद्धि, ऋण तथा इक्विटी आदि तत्त्वलाई हेर्नुपर्छ । गिर्दो आर्थिक अवस्था र बढी ऋण भएका कम्पनीहरू बढी जोखिमपूर्ण हुन्छन् ।

(विश्लेषक रविन्द्र भट्टराईको नेपालको शेयर बजार पुस्तकबाट)

Health Tips Ad Road Block