skip this News Page Tips Ad Road Block

दुखद खबरः धादिङको बेनिघाट रोराङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २४ घाइते

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । बेनिघाट रोराङ्ग गाउँपालिका– ५ भैंसीगौडास्थित पृथ्वी लाेकमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गएराति करिब साढे एक बजेतिर पोखराबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

साे स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो । त्यस्तै नेपाल आर्मीसमेत उद्दारमा खटेको थियो ।

प्रारम्भिक सूचनाअनुसार १७ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये ४ महिला र १३ पुरुष रहेको बताइएको छ । अन्य घाइते २४ जनालाई उद्दार गरेर उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । केहीकाे अवस्था चिन्ताजनक रहेकाे प्रत्यक्षदर्शीले बताएका छन् । घाइते तथा मृतकको सनाखत भइसकेको छैन । दुर्घटनाको कारण र थप विवरण आउन अझै बाँकी छ ।

तस्विरः सामाजिक सञ्जाल

Health Tips Ad Road Block