काठमाडौं/दिल्ली । ग्लोबल साउथका लागि पहिलोपटक आयोजित एआइ इम्प्याक्ट समिटमा सहभागी हुँदै चौधरी ग्रुप तथा सिजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) क्षेत्रमा उपभोक्ता मात्र नभई निर्माता राष्ट्रको रूपमा अघि बढ्नुपर्ने बताएका छन्। दिल्लीमा आयोजित उक्त सम्मेलनमा बोल्दै चौधरीले नेपाललाई भारतको “प्राकृतिक साझेदार” को रूपमा चित्रण गरे। उनले नेपालको IT इकोसिस्टम तीव्र गतिमा विकास भइरहेको र नेपाली युवामा विश्वस्तरीय प्राविधिक क्षमता रहेको उल्लेख गरे।
“नेपालसँग प्रतिभा छ। अब त्यो प्रतिभालाई AI अनुसन्धान र आफ्नै मोडेल विकासमा केन्द्रित गर्नुपर्छ,” चौधरीले भने।
सम्मेलनमा भारतले Global South का देशहरूलाई AI को निर्णय प्रक्रियामा सहभागी गराउने सन्देश दिएको सन्दर्भमा चौधरीले नेपाल–भारतबीच प्रविधिगत सहकार्य विस्तार गर्नुपर्ने बताए।
उनका अनुसार नेपाल पश्चिमी मुलुकका धेरै कम्पनीहरूको लागि टेक्नोलोजी ब्याकएन्ड बन्दै गएको छ, जसले भविष्यमा AI क्षेत्रमा पनि साझेदारीको ठूलो सम्भावना देखाउँछ।
“नेपाल र भारतले AI क्षेत्रमा मिलेर काम गर्न सक्छन्। आगामी ठूलो छलाङ AI नै हुनेछ,” उनले स्पष्ट पारे।
चौधरीले विकसित देशहरूले AI लाई मुख्यतः गेमिङ र अटोमोबाइल क्षेत्रमा प्रयोग गरिरहेको भए पनि दक्षिण एसियाली मुलुकहरूका लागि यसको प्राथमिकता फरक हुनुपर्ने बताए।
उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा AI को प्रयोग गरी समाजको अन्तिम पंक्तिमा रहेका नागरिकसम्म प्रविधिको लाभ पुर्याउनुपर्नेमा जोड दिए।
“AI को भविष्य भनेको जनताको भविष्य हो,” उनले भने।
वर्तमान युवा पुस्ता (Gen Z) परिणाममुखी र डिजिटल केन्द्रित रहेको उल्लेख गर्दै चौधरीले उनीहरूको आकांक्षा पूरा गर्न AI महत्वपूर्ण माध्यम बन्न सक्ने बताए।
उनले नेपालले अब अनुसन्धान तथा विकास (R&D) मा लगानी गरी आफ्नै AI समाधान विकास गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
चौधरीले आफ्नो समूह CG Corp ले आगामी दिनमा AI क्षेत्रमा लगानी र सहकार्य विस्तार गर्ने संकेत दिएका छन्।
भारतका केही AI कम्पनीहरूसँग साझेदारीको सम्भावना पनि उनले खुला राखेका छन्।
AI Impact Summit मा वरुण चौधरीको अभिव्यक्तिले नेपाल AI को उपभोक्ता मात्र नभई सिर्जनशील र अनुसन्धानमुखी राष्ट्र बन्ने दिशातर्फ अग्रसर हुनुपर्ने स्पष्ट संकेत दिएको छ।






















