काठमाडौं । आगामी निर्वाचनका सुरक्षाका लागि मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा नाका पूर्णरूपमा बन्द गरिने भएको छ । यस विषयमा नेपाल–भारतबीच सहमति भएको हो ।
विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकमा यो सहमति भएको हो । मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय गरेको छ । त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने उल्लेख गरिएको छ ।






















