दाङ । दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएको नेकपा एमालेले जनाएकाे छ । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी.., देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ ।
सुर्खेतबाट राति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् । घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्ररूपमा फैलिएको छ, जसले आगामी निर्वाचनसम्म शान्तिपूर्ण वातावरण कायम रहला कि नरहला भन्ने चासो बढाएको छ ।
नेकपा (एमाले) दाङले घटनाप्रति कडा आपत्ति जनाउँदै घोर भत्सर्ना गरेको छ । जिल्ला सचिव श्याम डाँगीले प्रचार सामग्री खोसेर जलाउने र सार्वजनिक सवारी साधनमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको बताएका छन् ।
उनका अनुसार निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विषयमा आशंका उत्पन्न गरेको छ । उनले सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
“निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ । लोकतन्त्र विरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ”, सचिव डाँगीले भनेका छन् ।
घटनापछि एमालेका केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमार्फत् तीखा प्रतिक्रिया जनाएका छन् । केन्द्रीय सदस्य शान्ता चौधरीले आस्थाको प्रतिक झण्डा जलाउने कार्य असह्य हुने उल्लेख गर्दै संयमता कमजोर पार्ने प्रयास नगर्न चेतावनी दिएकी छन् ।
शान्ता चौधरीले लेखेकी छिन्, “सलाइ र लाइटर बालेर हाम्रो आस्थाको प्रतिक झण्डा जलाउने तिम्रा हातहरू, हामी दही जमाएर बस्ने छैनौँ ।”
त्यस्तै कोमल वलीले उक्त गतिविधिलाई घोर निन्दनीय र अराजकतापूर्ण भन्दै लोकतान्त्रिक सहिष्णुतामाथिको प्रहार भएको टिप्पणी गरेकी छन् । उनले राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै प्रतिद्वन्द्वी दलको प्रतिक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको बताएकी छन् र निर्वाचन आयोगको आचारसंहिता उल्लंघन भएको दाबीसमेत गरेकी छन् ।
“दाङ तुलसीपुरमा नेकपा (एमाले) को झण्डा च्यात्ने तथा जलाउने गतिविधि घोर निन्दनीय, अस्वीकार्य र पूर्णरूपमा अराजकतापूर्ण छ । राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो तर प्रतिद्वन्द्वी दलको प्रतिक वा झण्डामाथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कारमाथिको प्रहार हो । लोकतन्त्र भनेको असहमतिको सम्मान गर्ने प्रणाली हो, हिंसा र द्वेष फैलाउने माध्यम होइन”, वलीले लेखेकी छिन् ।
झण्डा जलाएको घटनाको चौतर्फि आलोचना सुरु भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङका संयोजक गोविन्द मल्लले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्दै एमालेसँग राजनीतिकरूपमा फरक धार भएपनि झण्डा जलाउने गतिविधिलाई अराजक प्रवृत्तिको संकेत भनेका छन् ।
“नेकपा (एमाले) सँग राजनीतिकरुपमा हामी फरक कित्तामा छौँ । तुलसीपुरमा सहकारी ठग, राहादानी कसुरी, फटाह, अमेरिकी नागरिकता धारी, स्वास्नी खेर्दै हिड्ने झल्लोको अनुहार हेर्न भनेर जम्मा भएका गजडी, अराजक झुन्ड, भिडमा सिक्री चोर्न आएका चोरहरु, ट्यापे मुन्द्रेहरुले एमालेको चुनाव चिन्ह जलाएका छन् । प्रिय दाइ महेश बस्नेत तपाईँलाई दाङबाट सम्झना छ । एकदिन तह लगाउनुपर्छ, एक/एक हिसाब राख्नुहोला विवेक श्रेष्ठ, मनोहर बुढाथोकी दाई । हिजो संसद आगो लगाउने, सिंहदरबार जलाउने, अदालत खरानी बनाउने, राजनीतिक पार्टीका कार्यालय, नेता कार्यकर्ताका घर जलाउनेहरु होहल्ला गर्दै छन् । अझै ४/६ महिना यिनिहरुको कोलाहल मच्चिने छ । घन्टेहरु..!”, मल्लले लेखेका छन् ।
दाङको तुलसीपुर मा नेकपा (एमाले) को झण्डा जलाइएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङले औपचारिक प्रतिक्रिया दिएको छ । जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका सभापति रवि लामिछानेको कार्यक्रमपछि देखिएको उत्तेजित गतिविधि पार्टीको संगठित निर्णय वा निर्देशन नभएको स्पष्ट पार्दै रास्वपाले कुनै पनि दलको झण्डा वा प्रतिकमाथि आक्रमण गर्ने कार्यलाई समर्थन नगर्ने जनाएको छ ।
रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । साथै आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ ।

यद्यपि सामाजिक सञ्जालमा व्यक्त केही अभिव्यक्तिहरू अत्यन्तै आक्रामक र व्यक्तिगत आरोपयुक्त देखिएका छन्, जसले बहसलाई थप विवादास्पद बनाएको छ । समग्रमा तुलसीपुरको घटनाले निर्वाचनको संघारमा लोकतान्त्रिक अभ्यास, सहिष्णुता र राजनीतिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको छ । शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।






















