ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्ने प्रचण्डको उद्घोष

Citizenlife ad 2082 falgun to baishak 2083

रुकुम। नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन् । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी कार्यक्रममा उनले दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरेका छन् । “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उनले भने, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन । म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।”

उनले दलितहरूको बाहुल्य रहेका क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर सो समुदायलाई विशेष अधिकार दिन सकिने बताए । यसैगरी उनले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं । त्यसको स्तरउन्नति गर्ने । तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,” उनले भने । निर्वाचित भएपछि सो सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्ने उनको भनाइ छ ।

जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गरे । “अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनुपर्छ,” उनले थपे ।

Health Tips Ad Road Block