काठमाडौं । लगातार तीन हारपछि नेपाल आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ । आइतबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको हारपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि नेपाल इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो ।
यता लगातार तीन खेल जितेको वेस्ट इन्डिज सुपर ८ मा पुग्ने पहिलो टोली बनेको छ । समूह सी मा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्ल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छ । अब वेष्ट इन्डिज र इंग्ल्याण्डले इटलीसँग खेल्न बाँकी छ । यस्तोमा इटलीलाई हराएमा इंग्ल्याण्ड सुपर ८ मा पुग्नेछ । इटलीले भने सुपर ८ मा पुग्न अब बाँकी दुवै खेल जिन्तुपर्दछ ।
नेपालले अब मंगलबार स्कटल्याण्डविरुद्ध हुने अन्तिम खेलमा प्रतिष्ठाको खेल खेल्नेछ । आजको हारपछि टी–२० विश्वकपअन्तर्गत नेपालको सुपर ८ मा पुग्ने लक्ष्यमा पूर्णविराम लागेको छ ।
आजको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे । पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए ।
नेपालका नन्दन यादवले १ विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालले ब्याटिङमा कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक भने हेर्न लायक बन्यो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी–२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे । सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले ११ रन र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे ।
यो खेलबाट सोमपाल कामी नेपालले खेलेको तीनवटै टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका छन् ।






















