काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बजेटको अर्धवार्षिक मूल्याङ्कन एवं संशोधन गर्दै बजेट आकारलाई घटाएका छन् । अर्थ मन्त्रालयले बजेटमाथि संशोधन गरेको जानकारी दिएको छ ।
संशोधित बजेट अनुमान गर्दै अर्थमन्त्री खनालले चालु आर्थिक वर्षमा चालु खर्च रू.११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्च रू.२ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्था रू.३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख समेत जम्मा रू.१६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान गरेका हुन् । यो रकम शुरू विनियोजनको ८५.९६ प्रतिशत हो।
आर्थिक वर्ष २०८२/८३ का लागि कुल रू.१९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएको थियो । पुस मसान्तसम्ममा रू.६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख (३५.१४ प्रतिशत) खर्च भएको मन्त्रालयले जनाएको छ।
खर्चलाई गत वर्षसँग तुलना गर्दा यसपाली ३.३९ प्रतिशतले वृद्धि भएको छ । हालसम्म चालुतर्फ ४१.२५ प्रतिशत, पुँजीगततर्फ १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले पुँजीगत खर्च न्यून हुनुमा आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति आदि कारण जनाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा सीमित राखे लक्ष्यका साथ बजेटको संशोधित अनुमान गरेको जनाएको छ ।





















