Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे कतारी व्यवसायिक प्रतिनिधिमण्डलबीच मन्त्रालयमा छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच भेटवार्ता भएको हो ।

भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो ।

छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिका महत्वपूर्ण हुने बताए । उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताउ । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताए ।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कतारी प्रतिनिधि मन्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद ( जेबिसी) को बैंठकका लागि नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा हिजो नेपाल आएको हो ।

यसैगरी प्रतिनिधिमण्डलले नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग हवाई सेवा तथा उड्डयन सहकार्य विस्तारबारे पनि छलफल गरेको छ ।

Health Tips Ad Road Block