काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आयो नुन खान नछोड्नु र चाहिने भन्दा बढी नखानु भनेर सबैलाई सचेत गराएको छ । आयोडिन मन्थ २०८२ (फेब्रुअरी २०२६) का अवसरमा जनस्वास्थ्यमा आयोडिनयुक्त नुनको महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै मञ्चले यस्तो अगा्रह गरेको हो । कार्यक्रममा पोषणविद् डा. अरुणा उप्रेतीले आयाडिन स्वास्थ्यका लागि नभई नहुने तत्व भए पनि आवश्यकभन्दा बढी आयो नुनको प्रयोग घातक हुन बताइन् । उनले बढी नुनको प्रयोगले रक्तचापसँगै अन्य समस्याहरू आउन सक्ने भन्दै नुनको प्रयोगबारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याइन् । उनले बालबालिकाको सुरक्षित भविष्यका लागि उनीहरूलाई ‘जंकफुड’ मुक्त गरिनुपर्ने बताइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले आयोडिनयुक्त नुनका नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बढी भएकाले नै सरकारले आयोडिनयुक्त नुनलाई सर्वसुलभ बनाएको बताएका छन् ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत विश्वराज दाहालले नुन प्रयोगबारे जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कतिपय व्यापारिक स्वार्थ समूहले आयोडिनयुक्त नुनबारे भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आयोडिनयुक्त नुनको महत्वबारे चर्चा गरेकी थिइन् ।
नुनको बिक्रीवितरणमा अति बेथिति, विकृति तथा कालोबजारी हुन थालेपछि २००९ सालदेखि सरकारले निगरानी गर्न थालेको र २०२० सालदेखि संस्थागत रूपमा नै सरकारले बिक्रीवितरण गर्दै आएको छ । नेपालमा बढ्दो शहरीकरण र खानेबानीमा आएको परिवर्तन र तयारी खानेकुरा अर्थात् पत्रु खाद्य पदार्थको प्रयोग बढ्दै गएको छ भने स्वास्थ्य मापदण्डभन्दा बढी अर्थात् दैनिक पाँच ग्राम आयोनुनमात्र शरीरलाई आवश्यक पर्नेमा अधिकतम अर्थात् १० देखि २० ग्रामसम्म उपभोग हुन थालेको विज्ञहरूले बताएका छन् ।






















