Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अमेरिकामा नेपालको प्रवर्द्धनः अमेरिकी पर्यटन व्यवसायीद्धारा नेपालको साहसिक पर्यटनप्रति विशेष चासो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो ।

नेपालका लागि अमेरिका एक महत्वपूर्ण स्रोत बजार रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ। यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले नेपालको विविध पर्यटन आकर्षण, साहसिक यात्रा, पर्वतारोहण र ट्रेकिङ सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए ।

दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङसम्बन्धी गतिविधिमा उल्लेखनीय रुचि देखिनुले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । साथै, यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग पर्यटन सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचान मजबुत बनाउने उद्देश्य पूरा गर्न मद्दत पुगेको जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले नेपालको प्याभिलियन अवलोकन गरी सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा विशेषगरी पूर्वी तटीय अमेरिकी राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो ।

नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।

Health Tips Ad Road Block