Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नुवाकोटको बेलकोटगढीमा माघ १० गते दशौं झिल्टुङ क्रस कन्ट्री दौड हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा दशौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ । बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खुला पुरुष÷महिला, पुरुष भेट्रान र स्थानिय पुरुषमा १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै स्थानीयको यु–१८ र यु–१६ छात्र÷छात्रा तथा आमा÷बुवा समूहको स्पर्धा पनि समावेश छन् । ४.५ किलोमिटर दूरीको हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १८ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाउने छन् । ‘वाक एन्ड टक’ विधा पनि राखिएको छ ।

पत्रकार सम्मेलनमा बेल्कोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङ र उपमेयर शिवप्रसाद दाहालले आगामी संस्करणदेखि दौडको दायरालाई अझ फराकिलो बनाउने योजना रहेको बताए ।

वडा ५ का अध्यक्ष मदन भुजेलले चर्चित खेलाडीको सहभागिताले गर्दा दौडको गरिमा अझ बढेको बताए । दौडका संस्थापक मोहन नेपालले दौडलाई सफल बनाउन स्थानीयको विशेष सहयोग रहेको बताउँदै दौडको सुरुआत कसरी भयो भन्ने बारे प्रकाश पारेका थिए । संस्थापक नेपालकै अग्रसरतामा दौडको सुरुआत भएको थियो ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले झिल्टुङ नेपालको कठिन दौड मध्येको एक भएको बताए । उनले दौडमा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको बताए ।

दौड कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः कोल्पुटारमै आएर टुंगिने छ ।

Health Tips Ad Road Block