ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अर्थशास्त्रमा भविष्य खोज्दै हजारौं विद्यार्थी: एनइओको क्षेत्रीय चरण सम्पन्न, ३ सय जना ‘क्लोज क्याम्प’का लागि छानिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । मुलुकभरका १४ प्रमुख शहरमा एकसाथ १ हजार बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिताका साथ नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ) को सन् २०२६ सत्र अन्तर्गतको क्षेत्रीय छनोट चरण सम्पन्न भएको छ। नेपाली युवापुस्तामा अर्थशास्त्र, वित्त तथा नीति निर्माणप्रति बढ्दो आकर्षणलाई उजागर गर्दै यस वर्षको क्षेत्रीय चरणमा देशभरबाट २ हजार १ सय ३१ जनाले आवेदन दिएकोमा १ हजार ४७ विद्यार्थीले प्रत्यक्ष रूपमा परीक्षामा सहभागिता जनाए। यो सहभागिता संख्या ओलम्पियाडको इतिहासमै सर्वाधिक हो।

आयोजकका अनुसार क्षेत्रीय चरणको नतिजा आगामी पुस २० गते (जनवरी ४) सार्वजनिक गरिनेछ। नतिजा प्रकाशनसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विद्यार्थी छनोटको कठोर र चरणबद्ध प्रक्रिया सुरु हुनेछ। क्षेत्रीय परीक्षाबाट उत्कृष्ट ठहरिएका ३ सय विद्यार्थीलाई देशभरबाट छनोट गरी दुई महिने ‘भर्चुअल क्लोज्ड क्याम्प’ मा सहभागी गराइनेछ। उक्त क्याम्पमा प्रदर्शन गरिएको क्षमताका आधारमा पुनः उत्कृष्ट ६० जनालाई छनोट गरी काठमाडौँ बोलाइनेछ। काठमाडौँमा हुने तीनदिने सघन ‘इन्टेन्सिभ बुटक्याम्प’ पश्चात मात्र नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जाने अन्तिम टोलीको टुंगो लाग्नेछ।

एनइओले आफ्नो पहुँचलाई विकेन्द्रीकृत गर्दै काठमाडौँ उपत्यकासहित वीरगञ्ज, चितवन, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, विराटनगर, पोखरा, सुर्खेत, जनकपुर, दाङ, धनगढी र काभ्रेमा परीक्षा केन्द्रहरू सञ्चालन गरेको थियो। सातै प्रदेश समेट्ने गरी तयार पारिएको यो संरचनाले दुरदराजका प्रतिभालाई मूलधारमा ल्याउन कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। कार्यक्रमलाई शैक्षिक ज्ञानमा मात्र सीमित नराखी एनइओले रणनीतिक साझेदारहरूसँगको सहकार्यमा व्यावहारिक आयाम समेत थपेको छ। टाइटल स्पोन्सर ‘एलाईट सिए’ (Elite CA) ले सबै केन्द्रमा ‘फाइनान्सियल मास्टरक्लास’ सञ्चालन गर्दै चार्टर्ड एकाउन्टेन्सी र वृत्ति विकासबारे प्रशिक्षण दियो भने उत्कृष्ट पाँच विजेतालाई पूर्ण छात्रवृत्ति घोषणा गर्यो। त्यस्तै, भारतस्थित ‘मास्टर्स युनियन’ (Masters’ Union) ले काठमाडौँ र पोखरामा ‘फाइनान्सियल लिट्रेसी गेम्स’ मार्फत विद्यार्थीलाई शेयर बजारको प्रत्यक्ष अनुभव दिलायो। प्रभु बैंक (Prabhu Bank) र नबिल बैंक (Nabil Bank) जस्ता वित्तीय संस्थाहरूले पनि विभिन्न केन्द्रमा डिजिटल बैंकिङ साक्षरता सत्रहरू सञ्चालन गरे।

यस वृहत् कार्यक्रमको व्यवस्थापन केन्द्रीय संयोजक सन्ध्या चौलागाईंको नेतृत्वमा सम्पन्न भएको हो। काठमाडौँ केन्द्रको संयोजन दीपेन्द्र सुनारले सम्हालेका थिए भने मोफसलका १३ शहरहरूमा रामविनय शर्मा (वीरगञ्ज), अनिश शर्मा (चितवन), आरुषि ढकाल (इटहरी), शिवम मिश्र (हेटौंडा), लेखनाथ अधिकारी (बुटवल), सागर श्रेष्ठ (नेपालगञ्ज), प्रशान्त यादव (विराटनगर), इमन रेग्मी (पोखरा), रिदम बस्नेत (ललितपुर/काभ्रे), विपिन महतारा (सुर्खेत), कुशल शाही (जनकपुर), रूपक खनाल (दाङ) र तुलसी भट्ट (धनगढी) ले स्थानीय संयोजनको भूमिका निर्वाह गरे।

छनोट प्रक्रियाको अन्तिम चरण पार गर्ने शीर्ष प्रतिभाहरूले सन् २०२६ को जुलाई १२ देखि २० सम्म चीनमा आयोजना हुने प्रतिष्ठित ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’ (IEO) मा नेपालको प्रतिनिधित्व गर्नेछन्। आईईओ बाहेक अस्ट्रलेसियन इकोनोमिक्स ओलम्पियाड (AAEO) लाई पनि यस वर्ष विशेष प्राथमिकतामा राखिएको छ, जहाँ नेपाली टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्नेछ। साथै, जापानमा हुने एसिया इकोनोमिक्स कन्भेन्सन, सिङ्गापुर इकोनोमिक्स ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कपजस्ता अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि योग्य विद्यार्थीहरूलाई प्रतिस्पर्धाको बाटो खुल्नेछ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एनइओका निर्देशक दीपक भण्डारीले यो मञ्चले नेपाली युवाहरूलाई शैक्षिक प्रतिस्पर्धाभन्दा माथि उठेर विवेक र निर्णय क्षमताको व्यावहारिक परीक्षा दिने अवसर जुराएको बताए। “हामीले यहाँबाट आगामी दशकका नीति निर्माता र अर्थशास्त्रीहरू उत्पादन हुने अपेक्षा राखेका छौँ,” भण्डारीले भने। त्यस्तै, एनइओका अध्यक्ष अर्जुन सापकोटाले सन् २०१९ देखि सुरु भएको यो अभियानले अनन्तकालसम्म निरन्तरता पाउने बताउँदै, यस मञ्चले देशका कुना–कन्दरामा रहेका विद्यार्थीहरूलाई सधैंभरि अभिप्रेरित गरिरहने विश्वास व्यक्त गरे।

Health Tips Ad Road Block