Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूमातहतका विभाग, देशभरका ७५३ पालिकामा रहेका रोजगार केन्द्रमार्फत ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘हेल्प अस टु हेल्प यु’ ‘१० प्रश्न’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले खोजेका प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले यसअघि आफूमातहतका वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, यी विभाग अन्तर्गतका ११ वटा श्रम तथा रोजगार कार्यालय र देशभर ७५३ पालिकामा रहेका रोजगार केन्द्रमा पत्रचार गरिसकेको जनाएको छ । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारमा जाने श्रमिकलाई ठगी जोगाउन ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालन ल्याइएको जानकारी दिए । यस कार्यक्रममार्फत वैदेशिक रोजगारीका लागि जान लागेको देश, रोजगारदाताबाट आएका मागपत्र, योग्यता, आवश्यक पर्ने सिप, राज्यले तोकेको शुल्क, भुक्तानी गर्ने विधि, जाने सुरक्षित प्रक्रिया र योसँग सम्बन्धित आधिकारिक निकायका विषयमा उत्तर दिइने छ । प्रवक्ता घिमिरेले यस कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सक्ने, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सक्ने र वैदेशिक रोजगारमा पूर्ण सुरक्षित, सुनिश्चित गर्नु यसको उद्देश्य रहेको जानकारी दिए ।

पछिल्लो समय टिकटक, फेसबुकका रिललगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेन्टर प्रभावकारी हुने विश्वास मन्त्रालयको छ । यसमा कुन देशमा रोजगारीको माग कति छ, कुन वैदेशिक रोजगार व्यवसायी कम्पनीले कुन कुन देशका लागि श्रमिक पठाउँछन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका विषय समावेश छन् ।

Health Tips Ad Road Block