Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंंमा सम्पदाका समस्या सुल्झाइँदैः २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो । ‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । शहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’

पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै संगत भन्छन्, ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इञ्जिनियरिङ्को जीवन्त दशी पनि हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’

‘सुन्धारा वास्तुकलात्मक छ । ढुङ्गाहरुमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् ।’ यसको प्रचलनका विषयमा जानकारी दिँदै जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, , ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले पनि माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’

जयवागेश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आव्हान गर्नुभएको थियो । उहाँको आव्हानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागेश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छा अनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको पाउ पनि शिलाको नै छ । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’

यस अघि भएका पुननिर्माणका क्रममा धाराको स्वरुप विगारिएको छ । वडाध्यक्ष संगत भन्छन्, ‘बिग्रिएकोलाई सुधार गरेर यसको कलात्मकता र मौलिकपनलाई पुनस्थापित गराउँछौँ ।’

Health Tips Ad Road Block