काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशन आगामी फेब्रुअरी २३ देखि आयोजना हुने भएको छ । संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५–२०२६ मा आयोजना गर्ने निर्णय भएको एनआरएनएले एक विज्ञप्तिमार्फत जनाएको छ ।
एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीले आफ्नो कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको संघले जनाएको छ। यसै सिलसिलामा कमिटीले मंसिर २८ गते अर्थात् डिसेम्बर १४,आइतबार दोस्रो बैठक आयोजना गरेको र उक्त बैठकले संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न समसामयिक विषयहरूमा छलफल गरेको हो ।
बैठकले निम्न निर्णयहरू गरेको छः
१. राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरणका लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने। समितिमा संयोजक गंगाधर गौतम, सह–संयोजकः टीका गुरुङ (राधिका), सदस्यहरुमा नारायण काफ्ले, शनि ओली, चिरञ्जीवी खड्का रहने निर्णय भएको छ ।
२. गैरआवासीय नेपाली संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५, २०२६ मा आयोजना गर्ने।
३. बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र, डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्र सञ्चालन गर्ने निर्णय भएको छ ।
४. पाँच सदस्यीय मेम्बरशीप समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने।
५. स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधानअनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने र हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने ।
त्यस्तै बैठकले गैरआवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषदहरू, विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान पनि गरेको छ। महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय तथा कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत बैठकले आग्रह गरेको छ।






















