ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनपीएलः काठमाण्डु बाहिरियो, जित हासिल गर्दै लुम्बिनी क्वालिफायर २ मा प्रवेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेटको क्षतिमा १७ ओभरमा ४ बलमा पूरा गरेको हो । लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन बनाए । सन्दीप जोराले २३ रन, कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन बनाए ।

काठमाण्डुका लागि सन्तोष यादवले दुई विकेट, करण केसी, साहब आलम, राशिद खान र सन्नी पट्टेलले एकएक विकेट हात पारे ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनाएको थियो । पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमले १८–१८ र भिम सार्कीले १४ रन बनाए ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिए । रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट लिए । यो जितसँगै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । काठमाण्डु भने यो हारसँगै बाहिरिएको छ । अब लुम्बिनीले दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले भने फाइनलमा स्थान बनाइसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्विर एनपीएल

Health Tips Ad Road Block