Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतबाट ठूलो संख्यामा आउने पर्यटकलाई दिने सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पर्यटन सेवाको गुणस्तर वृद्धि गर्न नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन व्यवसायीलाई विभिन्‍न प्रशिक्षण दिइरहेको छ। जस अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले श्‍वाती संस्थासँग सहकार्य गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र अमाह सिमसार क्षेत्रका स्थानीय पर्यटन व्यवसायलाई होमस्टे र हाइजिनसम्बन्धी प्रशिक्षण दिएको छ ।

अमाहा सिमसार, बराहक्षेत्र–५, सुनसरीमा गरिएको “होमस्टे व्यवस्थापन तथा पर्यटन–मैत्री सेवा क्षमता विकास” तालिमले स्थानीयलाई होमस्टेको सम्भावना, दर्ता प्रक्रिया, सेवा संस्कार, आतिथ्य सत्कार, स्थानीय संस्कृति प्रस्तुति, विदेशी पर्यटकसँग व्यवहार, अंग्रेजी–हिन्दी संवाद अभ्यासदेखि डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्नेसम्म व्यावहारिक सिकाइ प्रदान गरिएको छ । उद्घाटनकै दिन श्‍वाती र अमाहा सामुदायिक वन समितिबीच भएको समझदारीले यस क्षेत्रको होमस्टे पर्यटनलाई व्यवस्थित र औपचारिक रूपमा अघि बढाउने आधार तयार गरेको स्थानीयले प्रतिक्रिया दिएका छन् । श्‍वाती संस्थाका अध्यक्ष सङ्गीता निरौलाले प्रशिक्षण सत्रको पहिलो सत्रलाई सम्बोधन गर्दै स्थानीय पर्यटन प्रबर्द्धनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन् ।

त्यसैगरी सामुदायिक वन समिति र वडा कार्यालयले कम्युनिटी होमस्टे दर्ता प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि अमाहा सिमसारमा पर्यटन विकासले नयाँ मोड लिने बताएका छन् । यसैबीच धनकुटाको भेडेटार, सांगुरीगढी–६ मा “ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार” सम्बन्धी ५ दिने तालिमले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई सेवामा पेशागत सुधार ल्याउन उत्प्रेरित गरेको छ । भारतबाट ठूलो संख्यामा आउने पाहुनालाई फेरि फेरि आउने वातावरण बनाउन सेवाको गुणस्तर उकास्नैपर्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष जितेन्द्र राईले तालिमलाई अत्यन्त आवश्यक पहलका रूपमा व्याख्या गरेका छन् ।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुम्बा राज लिम्बूले होमस्टेहरूको तीव्र वृद्धि भए पनि ज्ञान र सीपमा कमी रहेको उल्लेख गर्दै तालिमले त्यो खाडल भरिदिएको बताए । भेडेटार प्रहरीले पर्यटक सुरक्षा सुदृढ गर्न टुरिस्ट पुलिस कार्यालय आवश्यक रहेको धारणा राखे भने कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविश श्रेष्ठले व्यवहारजन्य चुनौती हटाउन यस्ता कार्यक्रम आधारभूत आवश्यकता बनेको बताए ।

तालिमपछि सरसफाइ, विशेषतः भान्सा र कर्मचारीको हाइजिनलाई प्राथमिकता दिने तथा गाउँपालिका र होटल एसोसिएसनले सिकाइको अनुगमन गर्ने औपचारिक संरचना बनाउने समेत सहमति भएको छ । यस कदमले भेडेटारको पर्यटन विकासमा टेवा पुर्‍याउने बताइएको छ ।

दीगो पर्यटन परियोजनाले यस किसिमका प्रशिक्षणले नेपालभर २,५०० दिगो रोजगारी र ५,००० जनाको सीप अभिवृद्धि लक्ष्य राख्दै पर्यटन क्षेत्रलाई महामारीपछिको अवस्थामा पुनर्जीवित गर्ने उद्देश्य बोकेको छ। स्थानीयलाई प्रत्यक्ष रूपमा सीप, ज्ञान र आत्मविश्वास प्रदान गर्दै एसटीपीले नेपाललाई विश्व–स्तरको दिगो पर्यटन गन्तव्य बनाउन दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको परियोजना प्रबन्धक धर्मराज दवाडीले बताएका छन् । उनले भने, ‘अमाहा सिमसारमा कम्युनिटी होमस्टेको तयारी र भेडेटारमा पेशागत सेवाको गणस्तर वृद्धि गर्ने स्थानीय समुदायको प्रतिबद्धताले कोशी प्रदेशको पर्यटन विकासमा नयाँ उर्जा थपिएको छ । यस क्षेत्रमा स्थानीय समुदाय नै पर्यटन विकासको वास्तविक अग्रदूत बन्दै गएको पनि देखिएको छ । यसले दिगो पर्यटनका लागि योगदान गर्नेछ।’

Health Tips Ad Road Block