काठमाडौं । पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप बढेको छ । विश्वमा हरेक वर्ष करिब २ करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक छ, जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि पछिल्लो समय क्यान्सर रोग भयावह बन्दै गएको विभिन्न अध्ययनहरुले उल्लेख गरिरहेका छन् । नेपालमा वर्षेनी चार सयभन्दा बढीकाे क्यान्सरका कारण मुत्यु हुने गरेको बताइन्छ ।
पछिल्लो समय नेपालका महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर धेरै हुने गरेको तथ्यांक छ । महिलामा हुने क्यान्सरको अवस्था हेर्दा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर, छातीको क्यान्सर बढी मात्रामा देखिएको चिकित्सकको भनाइ छ । उनीहरुका अनुसार, महिलामा हुने विभिन्न खाले क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरअर्थात् सर्भाइकल क्यान्सर सबैभन्दा बढी देखिएको हो । चेतना अभावमा संकोच मानेर धेरै महिलाले स्तन रोग परीक्षण गराउन अस्पताल नजाँदा समस्या झनै भयावह बन्दै गएको विज्ञहरु बताउँछन् ।
नेपालमा ३० देखि ५० वर्षका महिलामा स्तन क्यान्सर बढी देखिएको छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिला प्रत्येक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ । भक्तपुर क्यान्सर अस्पतालमा वर्षेनी क्यान्सरका कारण चार सयजनाको मृत्यु हुने गरेको छ ।
नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर मुख्य छन् ।
समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको छ । क्यान्सरको उपचार महँगोसँगै सहज पनि नभएको पीडित बिरामीको भनाइ छ ।
ग्लोबोक्यान अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । तथ्यांक हेर्दा नेपालमा वर्षेनी सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको मृत्यु हुने गरेको छ । रोग नलुकाउन र शंका लाग्नेबित्तिकै अस्पताल आउन चिकित्सकले सुझाव दिएका छन् ।






















