Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघको बृहत् एकता 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एकताको सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गर्दै अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ एनआरएनएलाई साझा संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएका अध्यक्ष डा. केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिवद्धता जनाए । उनले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए । अध्यक्ष केसीले भने,“हामी चार वर्ष अलमलिएका थियौ, संस्थाभित्र मतान्तर थियो । तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौ, यो एकताले संस्थालाई बलियो बनाएको छ । यो एकता भनेको अठोट र विश्वासको हो सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो ।”
डा. केसीले एनआरएनएबीचको एकतालाई यो अवस्थामा ल्याउन विशेष भूमिका निर्वाह गर्ने सञ्चारमन्त्री खरेललाई विशेष धन्यवाद ज्ञापन गरे ।

अर्का अध्यक्ष श्रेष्ठले बृहत एकताको घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको उनले बताए । उनले भने,“लामो समयको बेइमेल र असमझदारीलाई यस एकताको सम्झौताले चिर्नेछ । एकतालाई दिगो बनाएर, ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन मद्दत पुग्नेछ ।”
एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहदैँ आएकामा दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध भएका छन् । एकतापछि अबको चार महिनाभित्र १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ ।

Health Tips Ad Road Block