काठमाडौं । एनपिएल सिजन २ मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । काठमाडाैं गोर्खाजलाई सुदूरपश्चिमले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमाडाैंलाई २९ रनले हराएको हो ।
जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडाैंले १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रन बनायो । उद्घाटन खेलमा जितेको काठमाडौंले आज हार बेहोरेको हो । तापनि उसले जारी सिजनमा दुई अंक बनाएको छ । सुदूरपश्चिमको पहिलो जितसँगै दुई अंक जोडेको छ । काठमाडाैंका लागि आकाश त्रिपाठीले ३४ रन, जोन सिम्पसनले २४, भिम सार्कीले १२ र मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामी, हर्मित सिंह स्कट कग्जेजिनले दुई दुई तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गरेपछि खेलमा जित प्राप्त गर्न सफल भएको हो । हर्मितले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा ५३ रनको अर्धसतकीय पालि खेलेका थिए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले तीन चौका र एक छक्काको सहयोगमा ३९ रन, इसान पाण्डेले २५ रन बनाएका थिए । बलिङमा काठमाडाैंका कप्तान करण केसीले चार विकेट लिएका थिए । मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिए ।
एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच साँझ ४ बजे प्रतिस्पर्धा हुनेछ ।
तस्विरः एनपिएल






















