ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

चलचित्र निर्देशक ऋषि लामिछानेको अध्यक्षतामा इनास नेपालको नयाँ कार्यसमिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेलाई आगामी कार्यकाल सन् २०२५–२०२७ का लागि अध्यक्षका रूपमा निर्वाचित गरेको छ। राजधानीमा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं चुनिए। फिल्म निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव, राजिन पनेरु सचिव तथा चलचित्र वितरक रत्न श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भए। सदस्यमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियंका प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी चयन भए। अधिवेशनको निर्वाचन समिति प्रमुखमा अधिवक्ता सेमन्तमणि खेराल रहेका थिए।

इनासको ग्लोबल सञ्चार प्रतिनिधिमा सञ्चारकर्मी विष्णु शर्मा नियुक्त भएका छन्। उनले ग्लोबल र राष्ट्रिय समितिबीच सञ्चार समन्वय गर्ने जिम्मेवारी पाउनेछन्। अधिवेशनको अध्यक्षता इनास नेपालका निवर्तमान अध्यक्ष तथा एसिया संयोजक दयाराम पाण्डेयले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले संस्थाले विश्वभर फैलिएको सञ्जालमार्फत नेपाली कला, साहित्य, संस्कृति, भाषा र खेलकुदको प्रवर्धनमा सक्रिय भूमिका खेलेको बताए। उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) का दोस्रो र तेस्रो पुस्तालाई लक्ष्य गर्दै नेपाली भाषा सिकाउने पाठशाला स्थापना गर्ने तयारी संस्थाले अघि बढाएको छ।

नवनिर्वाचित अध्यक्ष लामिछानेले विधानको मर्मअनुसार संस्थालाई प्रभावकारी रूपमा अघि बढाउँदै विश्वभर रहेका नेपाली कलाकारको भावना र योगदानलाई सम्मान गर्ने गरी कार्ययोजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

एसिया संयोजक पाण्डेयले विविध विधाका विशेषज्ञको समावेश रहेको वर्तमान कार्यसमितिलाई आवश्यकताअनुसार थप परिष्कृत गर्ने जानकारी दिए। सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको इनासले हालसम्म करिब ७३ देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ। संस्थाले विश्वभरिका नेपाली कलाकारको हकहित र नेपाली कला संस्कृतिको पहिचान विस्तारमा कार्य गर्दै आएको छ।

Health Tips Ad Road Block