सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिबृद्धि गरी स्वरोजगार एवं आय आर्जनको अवसर प्रदान गर्नुका साथै नेपालको मौलिक कला, सम्पदा तथा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन समेत गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको दीगो पर्यटन परियोजनाअन्तर्गत नेपाल हस्तकला महसंघले २०८२ मंसिर १ गते लुम्विनी साँस्कृतिक नगरपालिका १० लुम्विनीमा ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षणको शुभारम्भ गरेको छ ।
नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापति नविन शाक्यको सभापतित्व एवं लुम्विनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त शुभारम्भ कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लुम्विनी होटल एसोशियसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवाली महासचिव पुरुषोत्तम अर्याल, लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव, उद्यम विकास सहजकर्ता नीरमा थारु अतिथि रहेका थिए ।
सो शुभारम्भ कार्यक्रममा महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटा, प्रशिक्षकहरु लगायत प्रशिक्षार्थीहरु एवं स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
२०८२ मसिर १ गते संचालन भएको ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन सम्वन्धी प्रशिक्षणका प्रशिक्षकहरु सुमित्रा बराल र डेनियल तुलाधर रहेका थिए ।
त्यसैगरी २०८२ मसिर १५ गते लुम्विनी साँस्कृतिक नगरपालिका १० महिलबार, लुम्विनीमानै संचालन हुने १५ दिने छ्वाली कला विधाको प्रशिक्षणका प्रशिक्षक सीताराम गोसाईं र बिष्णु केशरी देशेमरु छन् ।






















