काठमाडौं । व्यवसायिक मनोरञ्जनको रुपमा रहेका क्यासिनोहरुलाई सरकारले थप कानुनी दायरामा ल्याउने गरी विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गको पर्यटन विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागले भनेको छ, ‘यस विभागबाट इजाजत पत्र लिइ सञ्चालनमा रहेका क्यासिनोले कानुन बमोजिम पालना गर्नुपर्ने शर्त, मापदण्ड तथा निर्देशनहरुको पूर्ण पालना हुने नगरेको जस्ता गुनासोहरू विभिन्न सञ्चार माध्यमका प्रकाशन मार्फत र सो को प्राप्त उजुरीका सम्बन्धमा यस विभागको गम्भिर ध्यानाकर्षण भएको छ। क्यासिनो कम्पनीहरुले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५, क्यासिनो नियमावली, २०८२ मा उल्लिखित व्यवस्थाहरु र देहाय बमोजिमका निर्देशन तथा शर्तहरु अनिवार्य पालना गर्नुहुन यस विभागको मिति २०८२–७–२९ को निर्णयानुसार जानकारी गराइन्छ।’
विभागले जारी गरेको १२ बुँदे निर्देशन यस्तो छ
१. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्णरूपमा पालना गर्नुपर्ने ।
२. नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने ।
३. क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ बमोजिमको विवरण नियमित रुपमा विभागमा पेश गर्ने ।
४. क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरुप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने ।
५. क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सीसीटीभी क्यामराको अभिलेख कम्तिमा छ महिना सुरक्षित राखु पर्ने ।
६. तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका (सब कन्ट्रर्याक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने ।
७. इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने ।
८. इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभ कर अग्रीम रुपमा कट्टी सोही दिन गर्नुपर्ने ।
९. आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने ।
१०. इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिवन्ध हुने ।
११. क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभुति ।
१२. कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने र नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरूस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हने व्यहोरा समेत जानकारी गराइन्छ ।






















